जस योन्जन 'प्यासी'
जस योन्जन 'प्यासी' १४ दिसम्बर १९४९ मा दार्जिलिङको चुङथुङ चियाकमानमा पर्ने सिरिसे भन्ने गाउँमा कवि जस योन्जनको जन्म भएको हो।
शिक्षातर्फ एम.ए. गरेपछि पारसमणि प्रधानका व्यक्तित्व र कृतित्वको विश्लेषण र मूल्याङ्कन विषयमा उत्तरबड़ विश्वविद्यालयबाट पिएच.डि. प्राप्त गरेका जस योन्जनले 'डिप्लोमा इन जर्नलिज्म' पनि गरेका छन्।
दार्जिलिङको भूमिमा पढी, बढी यही भूमिलाई आफ्नो कर्मथलो बनाउने जस योन्जन आकाशवाणी खरसाङमा समाचारवाचक तथा खरसाङ महाविद्यालयमा प्राध्यापक भई सेवा प्रदान गर्दै हाल बिजनबारी डिग्री कलेजमा प्राचार्यको सम्मानजनक पदमा कार्यरत छन्।
योन्जनको कलम कविता, नाटक, उपन्यास, समालोचना, निबन्ध, अनुवाद इत्यादि धेरै विधामा चलेको छ। विद्यार्थीकालदेखि नै विविध पत्र-पत्रिकाको सम्पादन-कार्य गर्दै र आफ्ना रचनाहरूको पनि प्रकाशन गर्दै आउने कवि जस योन्जन नेपाली कविताको क्षेत्रमा प्रगतिवादी धाराका कविका रूपमा परिचित छन्। उनका कविताहरूमा युगीन विसङ्गति र व्यवस्थाको विकृतिप्रति विद्रोहको आवाज पाइन्छ। वर्तमान पिँढीको अन्योलपूर्ण स्थितिको चित्रण गर्दै भावी सन्तानप्रतिको चिन्ता उनका कविताले व्यक्त गर्दछन् । मान्छे-मान्छेका बिचमा बढिरहेको द्वेष, डाह, ईर्ष्याका कारणले विश्व अशान्त बनिरहेको बोध गर्ने कवि प्यासीका कवितामा विश्व-शान्तिका लागि स्वर ध्वनित भएको छ। उनका कवितामा ठाउँ-ठाउँ व्यङ्गय पनि पाइन्छ। कुण्ठा, आक्रोश र विद्रोह व्यक्त गर्दै प्यासीले नवसमाजको गठन र परिवर्तनको आग्रह पनि आफ्ना कवितामा राखेका छन्।
जस योन्जनलाई साहित्य-सेवाका लागि खरसाङको अरूगि पुरस्कार द्वारा सम्मानित गरिएको छ। आकाशवाणी नाट्य-लेखन पुरस्कार पनि उनले प्राप्त गरेका छन्। शान्ति-सन्देह कृतिका लागि उनलाई सन् २००४ को साहित्य अकादमी पुरस्कार प्रदान गरिएको छ।
उनका प्रकाशित प्रमुख कृतिहरू :
१. एउटा देशको खोजमा (कविता सङ्ग्रह, सन् १९८५)
२. शान्ति-सन्देह (कविता सङ्ग्रह, सन् २००२)
३. नयाँ सूर्यको प्रतीक्षामा (नाटक सन् १९९२)
४. चिट्ठी (पत्रात्मक उपन्यास, सन् १९७८)
५. प्यासीका केही समालोचना ( समालोचना, सन् १९८३)
६. बुद्धदेव बसु (जीवनीका अनुवाद, सन् १९९१)
७. परख (समालोचना, सन् २०१३)
If you have any problem then please drop down comment. so I can write an article on your demands.
Thanks

0 Comments